आजदेखि देशभर १२ औं राष्ट्रिय जनगणना

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना सूरु हुँदै छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । जनगणना मंसिर ९:३० मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणकसहितको टोली बिहान साढे ९ बजे शीतल निवास पुग्नेछन् । त्यसपछि उक्त टोलीले बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गर्नेछ । तथ्यांक विभागको टोली दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास पुग्ने कार्यक्रम रहेको छ ।

प्रत्येक १० वर्षमा गरिने जनगणना यसपटक सूचनाप्रविधि अनुकूल हुने भएको छ । जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । ‘एक जना गणकले एउटा परिवारसँग औसत २० मिनेटमा प्रश्नावली सोध्नेछ,’ तथ्यांक विभागमा महानिर्देशक नेबिनलाल श्रेष्ठले भन्नुभयो , ‘घरमूलीलाई जनगणनाको महत्त्व बुझाउनुपर्नेसमेत भएकाले कतिपय ठाउँमा ४० मिनेट पनि लाग्न सक्ला ।’ जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

जनगणनमा खटिने सुपरीवेक्षक र गणकलाई आवश्यक पर्ने सबै तालिम दिइएको र जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने उल्लेख गर्दै महानिर्देशक श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो ।केन्द्रले यो जनगणनामा समुदायमा आधारित प्रश्नपत्र तयार गरी सामुदायिक गणना शुरु गरेको छ । गणकले सबै गणना पूरा गरेपछि वडा कार्यालयमा पुगेर सामुदायिक गणना गर्नेछ ।

महानिर्देशक श्रेष्ठका अनुसार संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ, तर प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने तयारी भइरहेको छ । जनगणना सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सहजीकरण गर्न केन्द्रदेखि वडासम्म सहजीकरण समिति गठन गरिएको बताउनुभयो ।

विभागले केन्द्रस्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्देशक समिति, प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश जनगणना समन्वय समिति, जिल्लास्तरमा सिडियोको अध्यक्षतामा जिल्ला जनगणना समिति र पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहको प्रमुखको संयोजकत्वमा वडास्तरीय सहजीकरण समिति गठन गरेको जनाएको छ ।

केन्द्रले जनगणना गर्न ७ प्रदेशको जनगणना कार्यालयसहित ८७ जिल्लामा गणना कार्यालय र त्यसअन्तर्गत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरेको छ । महानिर्देशक श्रेष्ठका अनुसार विशेषगरी ठूला र धेरै जनसंख्या भएका जिल्लामा एकभन्दा बढी कार्यालय स्थापना गरिएको छ । काठमाडौं जिल्लामा ५, मोरङ, झापा, सुनसरी, ललितपुर, रूपन्देही र कैलालीमा २–२ वटा जनगणना कार्यालय स्थापना गरिएको छ ।

केन्द्रले गणकको योग्यता १२ कक्षा उत्तीर्ण र सुपरीवेक्षकको योग्यता स्नातकतह पूरा गरेको हुनुपर्ने उल्लेख छ । गणक छनोटमा स्थानीयलाई प्राथमिकता दिइएको थियो । योग्यता र आवश्यकताभन्दा बढी पर्यवेक्षक र गणकले आवेदन दिएका थिए ।

केन्द्रले जनगणनाको बारेमा जानकारी लिन पैसा नलाग्ने टोलफ्री नम्बर ११८७ मा सम्पर्क गर्न आग्रह गरेको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तहको गणना नक्सा तयारी गरिसकेको छ ।यसअघि बि.सं. २०६८ मा ११औं जनगणना भएको थियो । त्यस बेला पशुपक्षीको पूर्ण गणनासमेत समेटिएको थियो । विसं १९६८ पछि नेपालमा प्रत्येक एक दशकमा जनगणना हुँदै आएको छ ।यसैबीच केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतसँग समन्वय भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार