इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।

माई नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर भएको हो । थेबेले समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकेदारसँग मिलेर समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको आरोप छ।

त्यस्तै, २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकाली हिनामिना गरेको भन्ने उजुरी परेको थियो। अनुसन्धान गर्दा थेबेले समूहको निर्णय किताब तथा चेकबुक लगायतका कागजातहरू आफूले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा जम्मा भएको रकम कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरी रकम निकाली खर्च गरेको खुलेको प्रवक्ता रिसालले बताउनुभयो।

उनले कार्यक्रमहरूको खर्च विवरण तथा बिल भरपाइसमेत नदेखाई बदनियतपूर्ण ढंगले १३ लाख ९७ हजार ७७७ रुपैयाँ हिनामिना गरेको हो। हिनामिना गरी सार्वजनिक सम्पत्तिलाई हानी नोक्सानी पुर्‍याएको आरोपमा थेबेलाई बिगो १३ लाख ९७ हजार ७७७ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद मागदाबी गरेको छ। ‍सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार