काठमाडौँमा युवायुवती मृत फेला

काठमाडौँ । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा–युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।

संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थिए । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेदर बसेका थिए । वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०–२२ दिन मात्रै भएको थियो। उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो।

घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ। गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए। ‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे। तर राति भने अरूबेलाको जस्तो आवाज थिएन। झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भन्नुभयो, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।’

आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ। ‘त्यहाँ रगतैरगत थियो। त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरी पुग्दा अनिशको शरिर तातै थियो। अस्पताल पुर्‍याउँदा मृत घोषणा भयो,’ उहाँले भन्नुभयो।

अनिशलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो। यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उहाँले बताउनुभयो । प्रहरीले शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार