काठमाडौँ । उदयपुरको साविक ववला गाविस–७ स्थित कात्तिकेमा २०६१ मंसिर १३ मा राति दुईजना युवा मानबहादुर तामाङको घरमा गए । उनीहरुले खुकुरी झिकेर ६३ वर्षका मान बहादुरलाई आक्रमण गरे, अनि लगभग मृत्यु भएको यकिन गरेपछि त्यहाँबाट भागे । राति ८ बजे आक्रमणको शिकार भएका मान बहादुरको धरान स्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १७ मा मृत्यु भएको थियो ।
त्यसदिन उनलाई आक्रमण गर्ने मध्येका थिए, अहिलेको बेलका नगरपालिका–६ कात्तिके घर भएका गोबिन्द मगर र जयवीर राई उर्फ ‘विजय’ । मान बहादुरलाई ढालेपछि ‘परिवार सखाप पार्छौँ’ भनेर खुकुरी नचाउँदै भागेका उनीहरु मध्येका गोविन्द मगरलाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर बुधवार काठमाडौं ल्याएको छ । हत्या आरोपी मगर अहिले ४० वर्ष भएका छन् ।
हत्यामा संलग्न मुख्य योजनाकार जयवीर अझै फरार छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा मगरलाई पक्रेर काठमाडौंमा ल्याएको नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) मुकुन्दराज आचार्यले बताउनुभयो । उदयपुरस्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा मार्फत इन्टरपोलबाट २०७७ माघ २६ मा उनीविरुद्ध रेड नोटिश जारी भएको थियो । रातोपाटीबाट