निर्वाचनको म्यान्डेट मान्दा अरुको टाउको दुख्यो : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पार्नुभएको छ ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झन्डोत्तलन कार्यक्रममा नेता सिंहले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सभापतिमा सघाएको बताउनुभएको हो । नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको तर्क गर्नुभयो ।

‘दुईवटा एजेन्डा बोकेर म यसपटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ । दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भन्नुभयो,’फर्स्ट राउन्डको म्यान्डेट मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो । डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि ।’

उहाँले पहिलो चरणको निर्वाचनको म्यान्डेड मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गर्नुभयो । ‘मैले त्यो म्यान्डेट मान्यो भनेर कपाल दुखाइ छ यहाँ,’ उहाँले भन्नुभयो ।आफूले दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गरेपछि पार्टीभित्रकै केही नेताहरुले नियोजित रुपमा आफूमाथि प्रहार गरेको गुनासो गर्नुभयो । सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् पटक–पटक अनावश्यक टिकाटिप्पणी गरिएको उहाँको भनाइ छ ।

‘उनीहरुले चाहे जस्तो गरे प्रकाशमान ठिक, उनीहरुको इच्छाविपरीत उभिँदा प्रकाशमान सिंहले अपराध नै गरेजस्तो गरी प्रचारप्रसार भयो,’ उहाँले भन्नुभयो । नेता सिंहले कोरोना महामारीका बीचमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता–कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार