काठमाडौँ । घोराही कारागारबाट प्रहरीको मोटरसाइकल प्रयोग गरेर फरार भएका नाइके यमराज परियार भारतमा पक्राउ परेका छन् । उनलाई भारतबाट आज नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।
परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ । यो विषयमा ४ बजेपछि आधिकारिक रुपमा जानकारी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिआइबीको टोलीले समेत परियारको खोजी गरिरहेको अवस्थामा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए । गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए । उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए । कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। नागरिक खबरबाट