बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो।
मनोरथको उपचारको क्रममा सोमबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो। स्थानीय बल्देव कार्की‚ वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका छन्। बलदेवको धनगढीमा उपचार भइरहेको छ।
वीरभान र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको प्रहरीले जनाएको छ। पछिल्लो केही वर्ष यता जंगली जनावर आतंक मच्चाउन थालेका छन्। जंगली जनावरले बालीनाली नष्ट गर्नुका साथै मानिसमाथि नै आक्रमण गर्न थालेपछि समस्या भएको छ। nagariknews.nagariknetworkबाट