धेरै जनसंख्या हुने शीर्ष ५ सहरमा विराटनगर परेन

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा बढी जनसंख्या हुने नगरमा विराटनगर महानगरपालिका शीर्ष पाँचमा परेको छैन।

शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका छन्। यस्तै अर्को नगर विराटनगर महानगरपालिका शीर्ष ५ मा परेको छैन।यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ। तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भीक आँकडामा सबै नगरपालिकाको जनसंख्या समेटेको छैन।२० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा छन्।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकामा बाँकेका तीन वटा छन्। बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रूपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिका हुन्।सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसंख्या बाँकेको वैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४ सय ४२ रहेको छ । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा छ।राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको छ।

जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी देखिन्छ।अर्थात दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको छ। विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ।वि.सं.२०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार