
चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेदेखि लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने भएको छ। आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो।
आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरू गर्न लागेको हो । सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा स्याटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो।
भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन्। महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उहाँले बताउनुभयो।
काम सुरू गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताउनुभयो। तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसेकका भएका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गर्नुभयो। रासस