जेठ भित्र निर्वाचन नभए पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ। वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु।’नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहेका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताउनुभयो।

‘हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौं,’ उहाँले भन्नुभयो , ‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस्। यदि सरकारले जेठ भित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार