
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धनमध्येका तीन दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विवादित बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।
बालुवाटारमा आज नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । स्रोतका अनुसार उक्त प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकरात्मक लिनुभएको छ । उक्त भेटमा तीन नेताबीच स्थानीय तहको निर्वाचनबारे पनि छलफल भएका छ ।
एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, सत्ता गठबन्धन दलबीच नै एमसीसीबारे मतभेद रहँदै आएकाले टेबुल हुन सकेको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरुले छलफललाई तिव्रता बनाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन टुट्ने’ बताएको भन्दै समाचार आएपछि सोमबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री देउवा एमसीसी सम्झौता पारित गर्ने पक्षमा रहनुभएको छ । नागरिक खबरबाट