अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका  अध्यक्ष क्याप्टेन  डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो ।

सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहनुभएका अध्यक्ष पुनले बताउनुभयो । “पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उहाँले भन्नुभयोे, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।” गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ ।

पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गर्नुभएका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु अभियानको सुरूवात गर्नुभएको छ ।

गाउँपालिकाका विद्यालयमा ‘टेलिटिचिङ’ सुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान सुरु गर्नुभएका पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्धार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेलमैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु ४२ हजार सहयोग गर्नुभएको छ ।

घरापमा खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरिद गरेर उपलब्ध गराउनुभएका पुनले बजेट अभावमा अुधरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोग गर्नुभएको छ । दोसल्लेका धनबहादुर पुनको घर पुननिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गर्नुभएको छ ।

कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार, हिस्तान स्वास्थ्यचौकीलाई रु ७५ हजार सहयोग गर्नुभएको छ । यसै हप्ता कैलाश मावि दोबाका १५७ र टिकोट मावि हिस्तानका ७० विद्यार्थीलाई रु दुई लाख बराबरको एक–एक थान स्वीटर वितरण गर्नुभयो । विभिन्न विद्यालयका उत्कृष्ट बिद्यार्थी र खेलाडीलाई पुरस्कृत गर्नुभएका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गर्नुभएको थियो ।

पहिरो, चट्याङ, आगलागीपीडितका साथै अर्थाभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्नुहुन्छ । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइसमेत गर्नुभएको छ । विसं २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष नौ महिना काम गरी निबृत्त हुनुभएका पुनः पर्यटकीयस्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुनुहुन्छ ।

भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेशनल च्याम्पियन बन्नुभएका पुनले नवौँ र दशौँ एशियन, १९७९ को कमनवेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसीपमा सहभागी भएर पदक दिलाउनुभएको थियो । भारतमा खेल प्रशिक्षक भएर काम गर्नुभएका उहाँले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जित्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार