दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ

काठमाडौँ । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे जानकारी गराएको हो ।

सो अवसरमा अध्यक्ष भण्डारीले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पुरा गरी बैंक दर्ताको प्रस्ताव तयार गरिएको बताउनुभयो । अहिलेको प्रतिस्पर्धात्मक समय अनुकूल मुलुकमा एउटा मात्र सहकारी बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएकोले नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको दाबी गरिएको छ ।

त्यसो त हाल सहकारी क्षेत्रमा एकमात्र ‘राष्ट्रिय सहकारी बैंक’ सञ्चालनमा छ । जुन बैंकमा हाल १५ हजार प्रारम्भिक तथा केन्द्रीय संघ, सहकारी संस्थाहरु आवद्ध रहेका छन् । कार्यक्रममा प्रस्तावित बैंकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन गभर्नरसँग आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंक दर्ताका लागि आवश्यक प्रक्रिया जतिसक्दो छिटो अघि बढाइने आश्वासन दिनुभयो । ‘प्रस्तावित सहकारी बैंकले आफ्नो प्रकृया पुरा गरी अवधारणाबारे जानकारी गराएको छ । अब नेपाल राष्ट्र बैंकले के हो कसो हो त्यसको प्रक्रिया पुगे नपुगेको हेर दर्ता प्रक्रिया अघि बढाउनेछ’ गभर्नर अधिकारीले भन्नुभयो।

प्रस्तावित सहकारी बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उपरजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैंकको अवधारणा पत्र प्रस्तुत गरेको थियो । प्रस्तावित बैंकको चुक्ता पुँजी साढे दुई अर्ब रुपियाँ प्रस्ताव गरिएको छ भने बैंक सञ्चालनमा आएपछि सेवा सुविधा देशव्यापी बनाइने संचालक समितिको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार