रौतहट । सर्लाहीका इँटा उद्योगी व्यावसायीहरुले सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । दुई दिनको वर्षाको कारणले सर्लाहीको इँटा उद्योगको करिब ३३ करोडको क्षति पुगेको भन्दै सर्लाही इँटा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौमतलाई ज्ञापनपत्र बुझाउँदै क्षतिपूर्ति माग गरेको हो।
बेमौसमी झरीले सर्लाहीको इँटा उद्योगमा अकल्पनीय क्षति पुगेको व्यावसायीको दाबी छ। बेमौसमी झरीका कारण करिब ११ करोड काँचो इँटा गलेर नष्ट भएको दाबी गर्दै प्रजिअ गौतमलाई बुझाइएको ज्ञापनपत्रमा इँटा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, गैरकानुनी रुपमा संचालनमा रहेका भट्टाहरु यथाशीघ्र बन्द हुनुपर्ने वा कानुनी दायरामा ल्याउनुपर्ने, कर मिनाहा गर्नुपर्ने तथा सहलियत दरको ब्याजमा बैंकबाट सहज ऋणको व्यवस्था गरिनुपर्ने माग गरिएको छ।
सर्लाहीमा ९३ इँटा उद्योग संचालनमा रहेको दाबी गर्दै सबै उद्योगमा गरी ३३ करोड रुपैयाको नोक्सान भएको दाबी ज्ञापनपत्रमा गरिएको छ। संघका सर्लाही सचिव भगवान मैनालीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा इँटा उद्योगीले क्षतिपूर्ति पाउनुपर्ने जिकिर गरिएको छ। वर्षाले इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको बताउँदै सर्लाहीको इँटा उद्योग बन्द हुँदा करिब २८ हजारले पाएको रोजगारी गुम्ने अवस्था आएको पनि बताईएको छ।
सचिव मैनालीले हरेक इँटा उद्योगमा औसतमा तिन सयले रोजगार पाएको जानकारी गराउनुभएको छ । अत्यधिक वर्षाले इँटा उद्योगीको उठिबास हुने अवस्था आएको बताउँदै हजारौँको रोजगारी पनि गुम्ने अवस्था सिर्जना भएको गौतमको दाबी छ। सर्लाहीका अधिकांश इँटा उद्योगी व्यावसायीले बैंक र साहुसित ऋण लिएर उद्योग संचालन गरेको दाबी गरिएको छ । nagariknews.nagariknetworkबाट