नेपालगन्ज । पाटे बाघ गणनाका लागि बाँके–बर्दिया कम्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । ‘ए ब्लक’का नौवटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जंगलमा राखिएका ६ वटा क्यामरामा हात्तिले क्षेति पुर्याइदिएको छ ।
बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रविधियुक्त स्वचालित क्यामराहरु चोरी हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया प्रमुख डा. रबिन कडरियाले बताउनुभयो । ‘एउटा क्यामरालाई ४० हजारभन्दा बढि मुल्य पर्छ । क्यामरा हराउँदै जादा आर्थिक भार समेत बढ्दै जान्छ । गणनाका प्रयोग भएका क्यामराहरु बाहिरका मान्छेलाई काम लाग्दैनन्,’ उहाँले भन्नुभयो, ‘बाघको फोटो खिचेपछि क्यामरा हराउँदा फेरि अर्को क्यामरा राख्नुपर्दा गणनामा समेत प्रभाव पार्छ ।’
बर्दिया–बाके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । ए र बी नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ भने सी ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । डी नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।अहिलेसम्म बाँके–बर्दिया कम्लेक्सका चारवटा ब्लकमध्ये दुई ब्लकमा बाघ गणना भइसकेको छ । भने सी ब्लकमा अहिले बाघ गणनाको काम चलीरहेको छ । क्यामरा ट्र्यापिङ विधिबाट बाघको गणना भइरहेको बाँके निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।
‘अहिले सी ब्लकमा काम चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘केही दिनमा डी ब्लकमा समेत प्राविधिक टोली खटीनेछन् ।’बाँके–बर्दियामा बाघ गणनाका लागि सात टोलीमा ४२ जना प्राविधिकहरु खटिएका छन् । यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका ५ थान क्यामेरा चोरी भएका थिए ।सन् २०१८ को तथ्यांकअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ रहेका थिए । बाघको आक्रमणबाट बाँकेमा मात्रै हालसम्म ६ जनाको मृत्यु भएको छ । ekantipurबाट