तत्कालीन सह–न्यायाधीवक्ता थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरूद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

निलम्बित सह–न्यायाधिवक्ता थापासँग ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो । थापा २०४५ साल असार ५ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७५र२०७६ सम्ममा स्रोत नखुलेको उक्त बराबरको सम्पत्ति आर्जन गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

यो अवधिमा उनले वैध आय १ करोड ७६ लाख ७६ हजार १२० रुपैयाँ आर्जन गरेका थिए । तर आयको अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेको, खर्च तथा लगानी २ करोड ३८ लाख ७८ हजार १९७ रुपैयाँ देखिएको भण्डारीले बताउनुभयो । राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिव कारणबिना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखियो,’ अभियोग पत्रमा भनिएको छ।

आर्जित सम्पत्ति थापाले श्रीमती अन्जु खड्का थापाको नाममा राखेको पाइएको छ। त्यस्तो सम्पत्ति ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवम् विभिन्न बैंकहरूमा जम्मा गरेको देखिएको अख्तियारको दाबी छ। थापालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा ९१० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख, बमोजिम स्रोत नखुलेको सम्पत्ति असुल तथा जफत गरी पाउन माग दाबी लिइएको छ। मुद्दामा श्रीमतीलाई पनि प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन माग दाबी लिइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार