बतास समूह मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च पुग्यो

काठमाडौँ । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उहाँविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।

‘बतास फाउन्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोक्नुभएको थियो। त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गर्नुभएको थियो ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौँ रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूहले सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार