काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताउनुभएको छ । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उहाँको भनाइ छ ।
कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्ने र नगर्ने नभए छिटो फिर्ता पठाउनुपर्ने उहाँको धारणा छ । संसदबाट अनुमोदन गर्ने भनेर परियोजना अड्काइराख्दा विभिन्न प्रश्न उठ्नु स्वाभाविक भएको गुरुङको भनाइ छ । ‘सम्झौतामा हस्ताक्षर गरेको पाँच वर्ष भइसक्यो । कार्यान्वयन पत्रमा हस्ताक्षर गरेको तीन वर्ष सुरु भइसक्यो ।
तर, कार्यान्वयन नगरेपछि त प्रश्न उठ्दैन र ? त्यसैले यहाँ हाम्रो धेरै कमजोरी भए’, कांग्रेस उपसभापति गुरुङले भन्नुभयो, ‘कार्यान्वन गर्ने भए अनुमोदन गरौँ । नगर्ने भए छिटो फिर्ता पठाऔँ ।’परियोजनामा जनता समाजवादी पार्टीदेखि कांग्रेस, एमाले र माओवादीलगायत पार्टी मुछिएकाले छिटो अनुमोदन गर्ने कि फिर्ता पठाउने भन्नेमा निर्णय लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तर, अमेरिकी प्रशासनले छिटो अनुमोदन गर्न भनेर दबाब दिनुलाई भन्नुभयो ‘अस्वाभाविक सक्रियता’ भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न दबाब दिनुभएको थियो । न्युज कारखाना