सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक’ बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे आ–आफ्नो अडानमा नेताहरु अडिग रहेकाले सहमति जुट्न सकेन । बैठक पुनः आइतबार बस्ने छ । सत्ता गठबन्धनको बैठकअघि गठबन्धनमा आबद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निवास खुमलटारमा बसेको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोदन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले सहमति दिएका छैनन् ।माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । एकीकृत समाजवादी र जसपा पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने अडानमा छ ।

यद्यपि, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र, जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता उपस्थित थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार