एमसीसीबारे अब वार कि पार गरौं भन्ने नै हो : थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै त्यसपछिका सबै सरकारको पालामा यसबारे केही न केही काम अघि बढेको प्रस्ट पार्नुभयो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमसीसी परियोजना स्वीकृत गरिएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यसलाई अघि बढाइएको उल्लेख गर्दै थापाले त्यसपछि बल्ल यो सम्झौताका केही बुँदा संशोधन गर्नुपर्छ भन्ने कुरा आएको जनाउनुभयो । तर, उक्त सम्झौता नेपालले मात्र चाहेर संशोधन नहुने अवस्था रहेकाले यसका लागि विवादित भनिएका केही बुँदामा स्पष्टिकरण सोधिएको पनि उहाँले प्रस्ट पार्नुभयो । उक्त स्पष्टिकरण र अमेरिकी जवाफसहितलाई संसदमा ल्याएर छलफल गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

एमसीसीलाई अब धेरै समय अल्झाएर राख्न नहुने उल्लेख गर्दै थापाले भन्नुभयो, ‘पास भए पास, फेल भए फेल होस्, कति दिन छलफल गर्नुपर्छ, गरौं । यही कुरा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत भन्नुभएको छ ।’ प्रधानमन्त्री देउवाले यो विषयमा आफ्नो पोजिसन क्लियर गरिदिनुस् भनेर एमाले अध्यक्ष ओलीलाई भनेको तर आफ्नै नेतृत्वको सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेको अवस्थामा समेत ओलीले अहिले मौनता साँधेर बसेकोमा आफूहरुलाई आश्चर्य लागेको थापाले बताउनुभयो ।

थापाले एमसीसीकै कारण गठबन्धन भत्किनुपर्ने कारण नरहेको पनि प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन किन बन्यो रु हाम्रो बीचमा कुराकानी मिलेर बनेको । कुराकानी मिलेन भने गठबन्धन चल्दैन । फरक फरक दल भएका कारणले गठबन्धन हुन केही कुरामा कुराकानी मिल्नुपर्छ । हामी सँगै हिँड्नका लागि गठबन्धन बनेको हो । कुनै एउटा विषयका लागि बनेको होइन, एउटा विषयका कारण भत्किनु पर्छ भन्ने पनि होइन ।’

एमसीसीको सवालमा पक्षमा मतदान गर्ने कि विपक्षमा मतदान गर्ने भन्नेमा प्रत्येक दल स्वतन्त्र हुने उहाँले बताउनुभयो । ‘अब यसलाई वार कि पार गरौं भन्ने हो । दर्जनौं पटक हामी छलफलमा सँगै बस्यौँ । संशोधन गर्ने ठाउँ नभइसकेपछि केही विषयमा प्रस्ट पार्न स्पष्टिकरण सोध्यौं । अझ पनि अहिले टेबल नगरौं, एक दुई महिना पर सारौं भन्ने कुरा आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो विषय काँग्रेसको मात्र जिम्मेवारी हो भन्नेजस्तो कुरा भइरहेको छ । सबै जना पन्छिएर काँग्रेसको मात्र जिम्मेवारीको कुरा हो भनेर पन्छिएकोमा हाम्रो आपत्ति छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार