नयाँ स्टक एक्सचेञ्ज : निवेदन लिएको १२ वर्ष नाघ्यो, अनुमति कहिले ?

काठमाडौं । १२ वर्षअघि नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै नयाँ स्टक एक्सचेञ्ज खोल्न सञ्चालन अनुमति दिने निर्णय गर्‍यो ।

२०६६ सालमा तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेञ्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले आवेदन दिनुभयो । यी कम्पनीहरुले लाइसेन्स माग गर्दै आवेदन दिएको १२ वर्ष नाघिसक्यो तर आवेदनको फाइल भने बोर्डले थन्काएरै राखेको छ ।

आइतबार बोर्डका नयाँ अध्यक्षको रुपमा रमेशकुमार हमालले पदबहाली गर्नुभएको छ । दुई वर्षभन्दा छोटो समयका लागि अध्यक्ष नियुक्त भएका हमालले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन्छन् कि दिंदैनन् भन्ने चासो अहिले पूँजी बजार क्षेत्रमा छ । १२ वर्ष अघि थन्काएको फाइल खोल्ने प्रयास यस अघिका अध्यक्ष डा. रेवतबहादुर कार्की र भिष्मराज ढुंगानाले गर्नुभएको थियो ।

आवेदन दिएका चार कम्पनीहरुलाई बोर्डले मर्जर भएर एउटामात्रै कम्पनी भए लाइसेन्स दिने बताएको थियो । तर अर्थमन्त्रालय यस विषयमा सकारात्मक नबन्दा बोर्डले लाइसेन्स दिन सकेन । अहिले एउटामात्रै स्टक एक्सचेञ्ज नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ । यो स्टक एक्सचेञ्जमा सरकारको बहुमत सेयर रहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार