
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताउनुभएको हो।
छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताउनुभयो। उहाँले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताउनुभयो।
त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरुले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। उहाँले कतिपय बेलामा विद्यार्थीहरुले विषय एक तर माग अर्को हुने गरेको पनि बताउनुभयो।
प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताउनुभयो। उहाँले विद्यालयहरु राजनीतिक पार्टीहरुको षड्यन्त्र गर्ने ठाएँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरुलाई शिक्षामा असर पार्न दिनबाट रौक्न सक्नुपर्ने बताउनुभयो। पछिल्लो समय राजनीतिक नेतृत्वकर्ताहरुमा भइरहेको संस्कृतिको विकासका कारण नै शिक्षामा समस्या भइरहेको उहाँले बताउनुभयो।
त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो। उहाँले देश संघीयतामा गएको भनेपनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताउनुभयो । उहाँले हरेक प्रदेशमा सरकारले एकरएक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राख्नुभयो।
प्राध्यापक चेम्जोङले विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको र्याङ्किङमा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुप्रति व्यंग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरुलाई स्थान स्थान दिन सुझाव दिनुभयो। उक्त छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरु विद्यार्थीहरुसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराउनुभयो।
उहाँले त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रुपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो। त्यस्तै प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीहरुको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय र प्राध्यापकहरुले अपराधीहरुलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताउनुभयो। प्राध्यापक चलाउनेले आफुमाथि गत वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीहरुबाट नभइ पैसा दिएर किनेका गुण्डाहरुबाट भएको दाबी गर्नुभयो ।
त्यस्तै प्राध्यापक राजन आचार्यले आंशिक प्राध्यापकहरुको माग समान कामको समान पारिश्रमीक भएको बताउनुभयो । उहाँले प्रतिष्पर्धाबाट स्थायीका लागि जान आंशिक शिक्षकहरु तयार रहेकोले प्रतिष्पर्धाबाट स्थायी हुनका लागि तयार रहेको बताउनुभयो। बैठकमा ज्ञान गोष्ठीका सदस्य सुशील प्याकुरेलले शिक्षा क्षेत्र र विश्वविद्यालयको तरिकालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो।
उहाँले विश्वविद्यालयहरुले राष्ट्रिय विषयहरुमा गहन छलफल गरेर त्यसको चिरफार गर्न आवश्यक रहेको बताउनुभयो। सदस्य प्याकुरेलले अन्य देशमा राष्ट्रिय मुद्दाहरुमा विश्वविद्यालयका प्राध्यापकहरुसँग सञ्चारमाध्यमहरुले छलफल गर्ने गरे पनि नेपालमा भने आजसम्म कुनै वहस हुन नसकेको र विश्वविद्यालयहरु पनि देशका मुद्दाहरुमा खुलेर यथार्थतालाई बाहिर ल्याउनेतिर लागि नपर्नु दुःखद भएको बताउनुभयो। nagariknews.nagariknetworkबाट