काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।अख्तियारले मुद्दा दायर गरेको अन्यमा तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल, सहलेखापाल जनक राज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवार रहेका छन् ।
सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय बाराले आर्थिक वर्ष २०७३/७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले जनाएको छ । नागरिक खबरबाट