देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ बनेको भए म खुसी नै हुने थिएँ : रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावअनुसार नै आफूले एमसीसी अनुदान सम्झौताको विरोध गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रावलले अनुशासनहीन काम गरेको बताउनुभएको थियो । बुधबार सामाजिक सञ्जालमार्फत ओलीको भनाइको जवाफ दिँदै रावलले आफू पार्टीसिद्धान्त अनुरुप उभिएको र संसद्‍को छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीतिविपरीत भएको बताउनुभएको छ ।

एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको थियो । साथै रावल ‘व्यक्तिगत रूपमा हिरोु बन्न खोजेको समेत ओलीले बताउनुभएको थियो। ओलीले भन्नुभएको थियो, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो ।’

त्यस्तै आफूले राष्ट्रिय स्वाधिनता र हितको पक्षमा संसद्‍मा आवाज उठाउँदा मन पोलेको भए देशको पक्षमा बोलेर ओली ‘महाहिरो’ भएको भए आफू खुसी नै हुने पनि रावलले बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसद्‍मा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुसी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’

आइतबार एमसीसी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गर्नुभएको थियो। ओली नै संसद्मा उपस्थित रहेका बेला रावल रोष्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी हुनुभएको थियो । उहाँले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आउनुभएको छ । उहाँ संसद्मा एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मतविभाजनमा समेत सहभागी हुनुभएको थियो । उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गर्नुभएको थियो । एमालेले भने एमसीसी सम्झौता पारित भएसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार