यूएईमा पक्राउ परेका पत्रकार पाण्डेको रिहाइका लागि महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसहित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर पत्रकार पाण्डेको रिहाइका लागि नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गर्नुभएको हो ।

उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरेको छ ।  उनीविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ । महासंघले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत पत्रकार पाण्डेले सामाजिक सञ्जालमा आफूविरुद्ध लेखेकै आधारमा पक्राउ गरी मुद्दा चलाइएको भन्दै त्यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष पोखरेलले नेपालमा रहँदा लेखेको स्टाटसका आधारमा पत्रकार पाण्डेमाथि दुबईको कानुनबमोजिम दूतावासले कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। महासंघका महासचिव पुरीले नेपाली पत्रकार पाण्डेविरुद्ध यूएईस्थित नेपाली दूतावासले नै मुद्दा लगाउनु आपत्तिजनक भएको बताउनुभयो ।

जवाफमा मन्त्री खड्काले पत्रकार पाण्डेको अवस्थाबारे बुझेर दूतावासमार्फत् उहाँको रिहाइका लागि पहल गर्ने बताउनुभयो । पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ अर्थात् पुस २३ गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको भन्ने आशयमा लेखिएको स्टाटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाएको थियो । हाल पाण्डे दुबईको जेलमा छन् ।

उनीविरुद्ध दुबई अदालतले मंगलबार मात्रै तीन महिना कैद र करिब आठ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि यूएई सरकारले देश निष्काशन (डिपोट) गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम अर्थात् सात लाख ९९ हजार चार सय नेपाली रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार