काठमाडौँ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्को अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ ।
विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुनै न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लाग्नुभएको छ, सुभद्रा आले ।
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)बाट सेवानिवृत्त हुनुभएका उहाँ महिला सशक्तिकरणको लागि आवाज उठाउने गर्नुभएको छ। आफुभित्र भएको समाजप्रतिको चिन्तन, दृष्टिकोण र समाज परिवर्तन गर्ने हेतुका साथ उनी महिला हिंसाविरुद्धको कार्यमा लागेको बताउँनुहुन्छ ।
पारिवारिक सल्लाहअनुसार प्रहरीमा प्रवेश गरेकी शुभद्रा सेवानिवृत्तपछि महिला हिंसा अन्त्य र पीडितलाई न्याय दिलाउने कार्यमा खटिरहनुभएको छ । विवाहपछि प्रहरीको जागीरबाट आफूलाई हटाउन श्रीमानलाई साथी भाइदेखि आफन्तसम्मले दिएको सुझावपछि विभेदविरुद्धको कदम चाल्न आफूलाई उत्प्रेरित गरेको शुभद्रा स्मरण गर्नुभहुन्छ । उहाँको साथलाई बुबाआमादेखि सासुससुराले पनि साथ दिनुभयो।
‘विवाहपछि मलाई प्रहरीको जागीरबाट निकाल्न श्रीमानलाई सल्लाह दिएपछि विभेदविरुद्ध लाग्न उत्प्रेरित गर्यो,’ विगत स्मरण गर्दै शुभद्राले भन्नुभयो, ‘तर, प्रहरीको जागिर नछाड्न बुबाआमादेखि सासुससुराले साथ दिनुभयो ।’प्रहरीमा हुँदादेखि नै आफू महिला हिंसाविरुद्ध लागेको बताउने उहाँ धेरै महिलालाई हिंसाबाट मुक्त गराएर न्याय दिलाएको बताउँनुहुन्छ ।
महिला अधिकार रक्षाका लागि संघर्षमा रहेकी उनी अहिले सबैको प्रिय र आशाको व्यक्ति बन्नुभएको छ । अझ सरकारले यही कर्ममा लागेकै कारण उहाँलाई राष्ट्रिय पुरस्कार दिएरसमेत सम्मान गरेपछि आफूमाथि जिम्मेवारी थपिएको महसुस भएको बताउँनुहुन्छ। तराई मधेस क्षेत्रमा दाइजो प्रथाले महिला हिंसामा परेका छन् ।
दाइजो नदिए राम्रो घरकोले बिहे गर्दैन र पछि अरुले पनि विवाह गर्दैनन् भन्ने सोचले अभिभावकहरु दाइजो दिन बाध्य छन् । ‘दाइजो नदिइ विवाह गरेका महिलाहरू शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य छन्,’ शुभद्रा भन्नुहुन्छ, ‘कतिपय महिला हिंसा सहन नसकेर आत्महत्या गर्न समेत बाँध्य छन् ।’तराई मधेसमा महिलालाई विभिन्न डर त्रास दिएर घरेलु हिंसा बढिरहेको उहाँबताउँनुहुन्छ ।
दाइजो प्रथा, बाल विवाहजस्ता सामाजिक विकृतिको अझ पनि अन्त्य नभएको देखिन्छ । कानुनमा कडाइ, कानुन कार्यान्वयन नहुनु, राजनितिक हस्तक्षेप बढी भएको कारण तराई क्षेत्रमा बढी रुपमा बालविवाह, दाइजो प्रथा अन्त्य हुन नसकेको उनको बुझाइ छ । तराईमा स्थानीय भाषा जानेका महिला प्रहरीको अभावमा पनि हिंसालाई अन्त्य गर्न नसकिएको उहाँको अनुभव छ । शुभद्रा भन्छिन्, मैथिली भाषा जानेका महिला प्रहरी नहुँदा पीडितले आफ्नो दुःख पीडा व्यक्त गर्न सक्दैनन् । जस कारण उनीहरु पीडा र दमन खेपेर बस्न बाँध्य छन् ।’
आफू प्रहरीमा हुँदा पीडितलाई न्याय दिलाउन मैथली भाषा सिकेको शुभद्राले बताउनुभयो । ‘जो दुःख, पीडा, हिंसामा हुन्थेँ, उनीहरु मसँग आएर आफ्नो पीडा व्यक्त गर्थे । मैले मैथली भाषा जानेकाले उनीहरुलाई समस्या बताउन सजिलो भएको हो,’ उहाँले भन्नुभयो । कानुन कार्यान्वयन र राजनीतिक हस्तक्षेपका कारण महिला हिंसा अन्त्य नभएको शुभद्राको बुझाइ छ । ‘राजनीतिक हस्तक्षेप नहुने र कानुन कार्यान्वयन प्रभावकारी रुपमा हुने हो भने महिला हिंसा अन्त्य गर्न गाह्रो छैन,’ उहाँ बताउँनुहुन्छ । नागरिक खबरबाट