काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो ।
घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका–७ घर भइ अस्थायी प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गएराती ९ बजे ट्राफिक प्रहरी र उनीहरुसहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको थियो ।मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । नागरिक खबरबाट