काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका छन्। गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राम्रो व्यवहार गर्नू।’
कांग्रेस प्रतिपक्षी दललाई पनि राम्रो व्यवहार गर्ने पार्टी भएको देउवाको भनाइ थियो । चुनावी अभियानका क्रममा गाउँ पुगेका बेला सत्तारूढ गठबन्धन र प्रतिपक्षी दललाई चित्त दुख्ने गरी नबोल्न देउवाले केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि खटाएको छ।साथै देउवाले गठबन्धन नटुट्ने गरी काम गर्न पनि भनेका थिए। ‘गठबन्धन दललाई चित्त दुख्ने कुरा नगरौं यसो गर्दा शंका हुन्छ,’ उहाँले भन्नुभयो। देउवाले चुनावसम्म गठबन्धन रहने संकेतसमेत गरेका छन् । ०७९ वैशाख ३० मा स्थानीय चुनाव छ। सेतोपाटीबाट