काठमाडौँ । जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ। जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ।
यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन। तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल सञ्चालन गर्न सक्ने बताउनुभएको छ। बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाप्रबन्धक झाले यस्तो बताउनुभएको हो । उहाँले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।
‘रेल परीक्षण गरेर सम्पूर्ण तयारी पूरा गरेका छौं। सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं। सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ। मन्त्रालय पनि यो विषयमा सकारात्मक छ। रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘रेल सञ्चालनको लागि नेपाल सरकारले विगतदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको छ। पछिल्लो समय केही प्राविधिक समस्याहरु भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं।’
महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकिएको बताउनुभयो । रेल्वे सेवा अहिले सञ्चालनमा आउँछ भनेर उत्साहित रहेको भन्दै उनले रेल चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने दाबी गर्नुभयो। महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले स्थापित गराउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।
‘रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरु उत्साहित छन्। जसरी यात्रुहरू रेल चढ्न उत्साहित हुनुहुन्छ। त्यो अनुसारले रेल सञ्चालनमा आउँदा घाटामा विल्कुल जाँदैनौं । कम्पनी सुरूमा स्थापित हुनको लागि सरकारको लगानी चाहिन्छ’, उहाँले भन्नुभयो, ‘घाटामा जादैन भन्ने विश्वास छ। कम्पनीले नेपाल सरकारका अन्य कम्पनीले नाफा कमाए भन्दा राम्रो लाभ हुन्छ। रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भूमिका खेल्नेछ।’
रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको छ।रेल खरिद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ। अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ। रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको छ। वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षामा बसिरहेका छन्। सेतोपाटीबाट