चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नमागेको नोबेलको दाबी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ। कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो। एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्।

यो प्रकरणमा नोबेल मेडिकल कलेजमाथि आयोगले छानबिन पनि गरिरहेको छ।यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरूमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा.रामहरि घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सूचना प्रवाह नगर्न विद्यार्थीहरूलाई आग्रह गर्दछौं र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नु हुन सबैमा अनुरोध छ।’

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरश पालना गर्न कलेज प्रतिवद्ध रहेको विज्ञप्तिमा भनिएको छ।त्यस्तै, कलेजले विद्यार्थीहरूलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै बाधा व्यवधान नरहेको पनि नरहेको बताएको छ।

हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीहरूलाई चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अनुरोध गरेको छ।शिक्षा मन्त्रालयसँग भएको वार्तामा नोबेल सञ्चालकले बढी शुल्क नलिने प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले कारबाही गर्न गृह मन्त्रालयसँग माग गर्नुभएको छ । गृह मन्त्रालयले भने नोबेल सञ्चालकमाथि कारबाही गरिसकेको छैन। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार