काठमाडौँ । पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने संघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो ।
महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ र घरवास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।
संघका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । ‘बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधारण सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ’, उहाँले भन्नुभयो।
संघको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । आसन्न वसन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेर फर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने संघको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन । सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ । रासस