अर्थतन्त्रको स्थिति सहज हुनासाथ एलसीमा मार्जिन हट्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको बताउनुभएको छ । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन पनि दिनुभयो।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’उहाँले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको पनि बताउनुभयो ।

त्यस्तै, बस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन पनि निर्देशन दिनुभयो ।अर्थमन्त्री शर्माले भन्सार कार्यालयहरूमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिनुभएको छ । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अघि बढ्न सबै कर्मचारीलाई उहाँले निर्देश गर्नुभएको हो ।

माघ मसान्तसम्म लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभएको छ । भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाइका बाबजुत ३ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत बढी हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार