डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या !

काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या गरिएको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो भने योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।

फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले जनाए अनुसार त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेका थिए । अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्पश्चात् मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार