ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम

बेनी । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिका अनुभव र ज्ञान सीपहरु महत्वपूर्ण मागर्दशन बन्नेमा जोड दिनुभएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै ज्येष्ठ नागरिक एवम् मालिका गाउँपालिका–४ का वडा अध्यक्ष दिलिप शेरचनले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई उपयोग गर्ने उपयुक्त वातावरण तयार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक मानिसले ज्येष्ठ अवस्था पार गर्नै पर्ने भएकाले उनीहरुको लागि सामाजिक सुरक्षा र सामाजिक सबलीकरणतर्फ सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले ज्येष्ठ नागरिका ज्ञान, सीप र अनुभवलाई समाजले ग्रहण गर्नुपर्छ भन्ने सन्देश बोकेको बृत्तचित्र सहितको कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकको महत्वलाई उजागर गरेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले ज्येष्ठ नागरिकले आफ्नो जिवनको सक्रिय अवस्थामा हाँसिल गरेका ज्ञान, सीप र अनुभवलाई समाजको अमुल्य सम्पतीको रुपमा पुस्तान्तरण गर्न कार्यक्रम समावेश गरिएको बताउँदै युवा, विद्यार्थीहरुलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ, ध्रुवलाल शर्मा, लक्ष्मी जोसी, अंगद श्रेष्ठ लगायतले जिवनको उतार चढाब र ज्ञान सीप बारे पहिलो पटक सार्वजनिक कार्यक्रममा अनुभव अभिव्यक्त गर्न पाएकोमा धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी सञ्चारकर्मी पदम विश्वकर्मा, विद्यार्थीहरु विबा खाती, हिमाल आचार्य, ज्ञानेन्द्र मल्ल लगायतले हराउँदै गएका भाषा, संस्कृति, परम्परा र रहनसहनलाई ज्येष्ठ नागरिकका अनुभूतिका रुपमा वृत्तचित्रमा उतार्नु उल्लेखनीय काम भएको बताउँदै स्थानीय पाठ्यक्रमहरुमा समेत यस्ता बिषयबस्तुलाई समावेश गर्न सके नयाँ पुस्ताका लागि सम्पतीको रुपमा पुस्तान्तरण हुन सक्नेमा जोड दिनुभयो ।

सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायत विभिन्न संघ संस्था र कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी र ज्येष्ठ नागरिक लगायतको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार