धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनुभएको छ ।
एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताउनुभयो ।
आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो ‘एमालेले दुई पटक संसद विघटन गर्यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताउनुभयो ।
सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्रि हुने
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको इन्ट्रि हुने भएको छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताउनुभयो ।
‘चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ, प्रचण्डले भन्नुभयो, एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ । यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उहाँले बताउनुभयो । हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् । नागरिक खबरबाट