न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औं पूर्वव्यावसायिक आधारभूत तालिम मंगलबार शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन’, महान्यायाधिवक्ता खातीले भन्नुभयो, ‘न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ ।’नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भीक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउन बारले निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।

सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गर्नुभएको थियो । बार काउन्सिलले प्रकाशन गरेको उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गर्नुभएको हो ।

उक्त पुस्तकमा व्यवहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवसायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी छन् । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार