अर्थतन्त्र सुधार र पूँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पूँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो ।

शनिबार महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चाल आर्थिक बर्ष ०७८र७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको तीन निकायले जानकारी गराउनुभएको छ । अर्थमन्त्री शर्माले संस्थागत सुधार, प्रविधिको प्रयोग, प्रविधिको अपडेट गरिरहनेलगायत विषयमा ध्यान दिनुपर्नेसमेत बताउनुभयो। उहाँले नियम कानूनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन दिनुभयो । ‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम, विनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनुस्,’ उहाँले भन्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि बिस्तारै सुधार भइरहेको समेत जानकारी दिनुभयो । ‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ,’ उहाँले भन्नुभयो । बैंकको बढ्दो ब्याजदरप्रति उहाँले चिन्ता प्रकट गर्नुभयो । ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले बिरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदर बारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्थमन्त्री शर्माले नागरिक लगानी कोषमा एक खर्ब रुपैयाँ भन्दा बढी पैसा रहेको र त्यसलाई पुँजी निर्माणमा केन्द्रित गर्न समेत उहाँले सुझाव दिनुभयो । केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्काल छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिनुभयो । ‘नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उहाँले भन्नुभयो ।

समीक्षा कार्यक्रममा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको वाषिर्क लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही बाञ्छित सिमा भित्रै रहेको जानकारी गराउनुभएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चकिर्ंदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले सल्लाह दिनुभयो ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बिदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिनुभयो । उहाँले सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थ व्यवस्थामा सुधार गरी जनता माझ राम्रो नतिजा दिन सकिने बताउनुभयो । राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभाष हुने गरी सेवा दिनसक्नुपर्ने बताउनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार