हामीले गल्ती गरेका छौं भन्नासाथ एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ : भुसाल

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले वामएकताको नेतृत्व एमालेले लिनुपर्ने बताउनुभएको छ । उहाँले वामएकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको पोलिटब्युरो बैठकमा पनि वामएकताको कुरा राख्नुभएको थियो । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताउनुभयो ।

‘यो स्थिरतासँग सम्बन्धित छ। वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ। एकताको लागि पहल गर्ने आज पनि दायित्व एमालेकै हो,’ भुसालले भन्नुभयो । हिजो एउटै दल नेकपामा रहेकाहरू प्रतिनिधि सभा विघटनपछि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बने पनि यी तीन दलका बीचमा वैचारिक र सैद्धान्तिक समस्या नरहेकोले एक भएर जानुपर्ने भुसालको भनाइ छ।

‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन। हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियोरु,’ उहाँले भन्नुभयो, ‘हामी विभाजन भएको ०७७ पुसमा प्रतिनिधि सभा विघटनले हो। त्यो मामिला अदालतले टुंगो लगाइसक्यो।’उनले अब तीन पार्टी फरक हुनुको अर्थ नरहने पनि बताउनुभयो।‘तीन पार्टीले आफ्नो हैसियतअनुसारको नतिजा ल्याउँछन् तर तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्छ,’ उहाँले भन्नुभयो, ‘केहीले वामएकताको कुरा नबुझेर विरोध पनि गरेका हुन सक्छन्।’

उहाँले विभिन्न शक्तिले पनि वाम एकता हुन नदिएको बताउनुभयो। ‘०७४ मा पनि वामएकताको कुरा गर्दा मेरो विरोध भएको थियो। यो विभाजन र दूरी कृत्रिम छ,’ उहाँले भन्नुभयो । उहाँले पदअनुसार जिम्मेवारी र भूमिका हुन्छ भन्ने स्वीकार गर्नसाथ गठबन्धन हुने पनि बताउनुभयो।‘हामीले गल्ती गरेका छौं भन्नासाथ गठबन्धन हुन्छ, त्यसपछि पार्टी एकता हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘नेताहरूले निजी स्वार्थमा टेकेर एकता हुँदैन।’सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार