भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोपौं : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोप्‍न आग्रह गर्नुभएको छ । विश्व पानी दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको बताउनुभएको छ ।

अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रहरूको संरक्षण गर्ने तथा ग्रामीण भेगहरूमा आहाल‚ पोखरी र तालतलैयाहरूको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्द्धन गर्नु पर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत् पुनर्भरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिन पनि आग्रह गर्नुभएको छ । उहाँले भूमिगत पानी पुनर्भरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा रोप्ने कार्यलाई देशव्यापि अभियानका रूपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । द्रुत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनर्भरण कार्यलाई प्रोत्साहन गर्न सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

भूमिगत जलस्रोतले पारिस्थितिक प्रणालीलाई दिगो राख्न‚नदीहरूको बहावलाई व्यवस्थित गर्न‚जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भूमिगत जलभण्डारणमा वृद्धि गरी हरेक नागरिकसम्म स्वच्छ पिउने पानीको पहुँच विस्तार गर्न सकिन्छ । किसानहरूलाई सिचाइँको पहुँच उपलब्ध गराइ कृषि उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

राष्ट्रपति भण्डारीले भन्नुभएको छ ,‘ पानी र प्रकृतिसँग प्राणी जगत्‌को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौति भएको छ ।’

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्व पानी दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै नलाग्‍ने विश्वास गरिन्छ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०।७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔं’ रहेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार