मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि यौनहिंसा बढ्यो : कमला पराजुली

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७० बर्षमाथिका महिलाका बलात्कारी पुरुषलाई जन्मकैदको सजायको व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कार्यक्रममा उहाँले प्रश्न गर्नुभयो– ‘१५ बर्षकी बालिका यौनकर्मी भइन् भनेर कारवाही गर्ने तर १७ वर्ष ११ महिना २९ दिनको बलात्कारी पुरुषलाई किन सजाय नगर्ने ? मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु यौनकर्मी हैनन् तर उनीहरुमाथि यौन हिंसाका घटना भइरहेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई प्रहरीले शरीर मास्ने बेच्ने कसुर अन्तरगत मुद्दा लगाएर दुःख दिने गरेको अवस्था छ ।’

उहाँले प्रत्यक्ष रुपमा आयोगमा दैनिक ३० देखि ४० वटा महिला हिंसाका उजुरी आएपनि आयोग केही गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी दाँत नभएको बाघको रुपमा रहेका छौँ । उजुरी आएपनि हामीले कारवाही गर्ने, कारवाही सिफारिस गर्ने अवस्था छैन्, मिल्न सक्ने मिलाएर पठाएका छौँ, मिल्न नसक्ने अवस्थाका बिषयलाई अदालत पठाउने गरेका छौँ । महिला आयोग नाम भएपनि हामी अधिकार विहिन जस्तो छौँ ।’उहाँले विद्यमान महिला सम्बन्धी कानुनी प्रावधानमा कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर जानका लागि आग्रह गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार