काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाक्नुभएको थियो ।
सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिनुभयो । ‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छौं’, रावलले भन्नुभयो, ‘निर्णय केन्द्रबाट लाद्नु भएन । यही सुझाव हामीले उहाँलाई दिऔं ।’
बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिनुभएको थियो । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको रावलले बताउनुभयो । विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरुले माग राखेका थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा.शशांक कोइराला र दीपक गिरी सहभागी हुनुहुनथ्यो । जिल्ला सभापतिहरुमा रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । अनलाइनखबरबाट