चिनियाँ विदेश मन्त्रीसँग ओलीले भने: अबरूद्ध नाका सुचारू हुनुपर्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग अबरूद्ध नाका सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।आज काठमाडौंको होटल मेरियटमा अध्यक्ष ओलीसहित एमाले नेताहरू र विदेशमन्त्री यीबीच भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा अध्यक्ष ओलीले अबरूद्ध नाकाहरु सुचारु गर्न चिनियाँ विदेशमन्त्री यीसँग आग्रह गर्नुभएको थियो । उहाँले कोरोनापछि बन्द भएको नाका खोल्नुपर्ने बताउनुभएको थियो । ओलीले बिआराई अन्तर्गतका आयोजनाहरुलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिएको भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो ।

‘बिआराई अन्तर्गतका आयोजनाहरुलाई निरन्तरता दिनुपर्छ, तिनलाई चाडो सक्नपर्छ। रेल, सिँचाइ, सडक, जलविद्युत् अनि नाका व्यवस्थित गर्ने आयोजनामा चीनको सहयोग होस् भनेर अध्यक्षले भन्नुभएको छ’,भट्टराईले भन्नुभयो,‘शिक्षा, स्वास्थ्यमा समेत चिनियाँ सहयोग अगाडि बढ्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सहयोग गर्छ। बन्द नाकाहरु चाडै सुचारु बनुन र चीन जान रोकिएका विद्यार्थीहरुको अध्ययन सुचारु बनाउनका लागि ध्यान दिन आग्रह गर्नुभएको छ।’

हुम्लाभन्दा पारी करिब ५ सय नेपालीहरु रोकिएको घटनाबारेसमेत ओलीले चासो राखेका थिए। त्यस्तो हो भने उनीहरुलाई आउने व्यवस्था मिलाउन पनि ओलीले चिनियाँ विदेश मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । चिनियाँ विदेश मन्त्री वाङले चिनियाँ लगानीमा सञ्चालित आयोजनाहरु छिटो सक्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले ठूलो मुलुक र सानो मुलुकको सम्बन्ध कस्तो हुनपर्छ भन्ने उदाहरण चीन र नेपाल हो भन्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार