
काठमाडौँ । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पाँचदलीय गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताउनुभएको छ । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी उहाँले आज पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसले गठबन्धनकै साथमा अगाडि बढ्दा फाइदा हुने बताउनुभयो।
गठबन्धन गर्ने कि नगर्ने भन्नेमा व्यापक बहस छ। मेरो विचारमा गठबन्धनसँग हामी जाँदा नै राम्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामी कमजोर भएका ठाउँमा गठबन्धनसँगै गइयो भने जित्न सजिलो हुन्छ।’उहाँले गठबन्धन बनेकोले नै पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री र राष्ट्रिय सभा सदस्यहरू जितेको पनि बताउनुभएको थियो । गठबन्धन गर्दा मापदण्ड भने तयार गर्नुपर्ने उहाँले बताउनुभयो।
उहाँले गठबन्धनमा जाने कि नजाने भनेर बिबाद नगर्न नेताहरूलाई आग्रह गर्नुभएको थियो । कांग्रेस जनतामा प्रिय भए पनि चुनाव हार्नुको कारण पार्टीभित्रको गुट र उपगुट भएको उहाँले बताउनुभयो । उहाँले गठबन्धन गरे कंग्रेस आई जस्तो हुन्छ भन्नेजस्ता अभिव्यक्ति नदिन नेताहरूलाई आग्रह गर्नुभएको छ । शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने बताइरहनुभएको छ । कंग्रेस आई हुन्छ भनेर निराश कुरा नगर्नु,’ उहाँले भन्नुभयो, ‘कांग्रेस कंग्रेस आईजस्तो होइन। यो विलय भएर जाने पार्टी होइन।’ सेतोपाटीबाट