नाका खुलाउन चीन सकारात्मक छ : वाङ यी

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताउनुभएको थियो ।‘भेटमा नाकाबन्दीपछि परेको समस्याको बारेमा कुरा उठाएका थियौं ।

विदेशमन्त्री वाङले रसुवागढी र तातोपानी नाका खोल्न हामी सकारात्मक छौं भन्नुभयो,’ अध्यक्ष दाहालसँगको भेटमा रहेका उनका स्वकीय सचिव रमेश मल्लले भन्नुभयो, ‘कोरोनाका कारण नाका खोल्न समस्या भएको हो । अन्य नाकाहरुको विस्तारका लागि पनि सकारात्मक रहेको जानकारी गराउनु भयो ।’भेटमा दाहालले चीनसँगको बढ्दो व्यापार असन्तुलनको विषयमा समेत चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए ।

भेटवार्तामा दाहालसँगै विदेश विभागमा प्रमुख नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, स्वकीय सचिवहरु गंगा दाहालको सहभागिता रहेको थियो । नागपोखरीस्थित म्यारियट होटलमा माओवादी केन्द्रको टोलीसँग विदेशमन्त्री वाङले आइतबार करिब ४५ मिनेट भेटवार्ता गर्नुभएको थियो । यसअघि वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । चिनियाँ नेता वाङ तीनदिने भ्रमण सम्पन्न गरी आइतबार नै स्वदेश फर्किने छन् । ekantipurबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार