बम बिस्फोट हुँदा दुई जना घाइते

इटहरी । इटहरीमा बिस्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृत टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार इटहरी–२ नवजागृत टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो । श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र लमजुङ–५ ढोडेनीका २३ वर्षीय शेरजङ गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए ।

घाइते भएका थापाको आँखामा चोट लागेकाले विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ । अर्का गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको हात र तिघ्रामा चोट लागेको छ । कोठाभित्र झोलामा रहेको सुतली बम बिस्फोट भएको प्रहरीको अनुमान छ ।

बिस्फोटको सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान गरिरहेकाले यसबारेमा अनुसन्धानपछि विस्तृत जानकारी दिने एसपी थापाले बताउनुभयो ।घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ । गत फागुनदेखि यो परिषद्ले सशस्त्र संघर्ष थालेको बताएको थियो । संघीयता खारेजीलगायत माग राखेर यो परिषद्ले सशस्त्र संघर्ष सुरु गरेको बताएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार