काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सुनुवाइ सुरू गरेको छ । मंगलबार समितिमा सुनुवाइको क्रममा उनले सर्वोच्चमा ज्यादै समस्या आएको बताउनुभयो ।
न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उहाँले बताउनुभयो । सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ। जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ।’
सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राख्नुभयो । बक्यौता नियन्त्रणका लागि कि न्यायाधीश संख्या बढाउनु पर्यो, कि कार्य समय बढाउन पर्यो’, उहाँले भन्नुभयो ।मुद्दा संख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आउने प्रवृत्ति रोक्न जरूरी रहेको उहाँले औंल्याउनुभयो । ‘तल्ला अदालतको क्षेत्राधिकार बढाएर पनि सबै मुद्दा सर्वोच्च अदालतमा आइपुग्नबाट रोक्नुपर्यो।’ सेतोपाटीबाट