म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको महासंघ जिल्ला शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभयो ।
उक्त अवसरमा पत्रकार सहित अन्य व्यक्तिहरुले समेत रक्तदान गरेका थिए । रक्तदानको महत्व र आबश्यकतालाई थप प्रचार प्रसार गर्नका लागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेल, प्रमुख अतिथि रेडक्रस सोसाईटी म्याग्दीका उपसभापति एवम् महासंघका संस्थापक अमर बानियाँले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बानियाँले स्थापना दिवसको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण र पुन्यको काम गरेकोमा आयोजकलाई धन्यबाद दिनुभयो । कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल,गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष हरि प्रसाद पौडेल सहित महासंघका पूर्वअध्यक्षहरु समेतको सहभागीता रहेको थियो । महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।