व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी

काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाउनुभएको छ । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताउनुभयो ।

‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोडरअनलोड रोकेका छौं,’ अर्यालले भन्नुभयो, ‘हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन ।’आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित हुने छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोडरअनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण १० बजेपछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप कुमार यादवले बताउनुभयो ।

निगमकाअनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोकाअनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार