काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएको हो ।
त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुग्नुभएको थियो ।
उहाँ भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ । त्यसपछि उहाँ चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नुहुनेछ । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्नुहहुनेछ । त्यसपछि उहाँ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ । अनलाइनखबरबाट