ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले एकल ढंगले कुनै पनि निर्णय नगरेको बताउनुभएको छ । थपलियाले जे(जे निर्णय भएर कार्यान्वयनका क्रममा आएका छन् ती सबै राजनीतिक दलको लिखित सहमतिकै आधारमा भएको बताउनुभयो।
गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकार’ कार्यक्रममा बोल्दै थपलियाले यस्तो बताउनुभएको हो । छलफलका क्रममा निर्वाचन आयोगले मतपत्रको रंग बदलेको, उम्मेदवारलाई दुई दिन मनोनयनको समय दिएकोलगायत विषयमा कुरा उठेपछि थपलियाले त्यसको जवाफ दिनुभएको हो ।
‘एउटा महानगरमा ९ सयबढी उम्मेदवार हुन्छन्, मनोनयन गर्दागर्दै दुई दिन समय लाग्ने भएकाले त्यसो गरिएको हो,’ उहाँले भन्नुभयो, ‘छिटो सकिदिनुहुन्छ भने दुई घन्टामै झारिदिउँला अर्को निर्वाचनमा।’२०७४ सालको स्थानीय तह निर्वाचनमा मनोनयन गर्दा दिनभर, रातभर र भोलिपल्ट बिहानसम्म लागेको भन्दै थपलियाले भन्नुभयो, ‘निर्वाचनपछि छलफल भएको थियो, रिपोर्ट आएको थियो, त्यो रिपोर्टमा सबैको लिखित राय, सहमति र अन्तरक्रिया गरेर अहिले दुई दिनको समय निर्धारण गरिएको हो।’
उहाँले मतपत्रमा हरियो रंगको प्रसंग ठूलो विषय नभएको भन्दै आयोगले सजिलो बनाउनकै लागि काम गरेहको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता दल र उम्मेदवारलाई नैतिकताको कसीमा बाँध्ने कडी भएको र राजपत्रमा प्रकाशित भएपछि त्यसलाई कानुनकै रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो ‘अपराध गर्नेहरू प्रहरीको आँखा छलेर जतिसुकै भागे पनि एक दिन पक्राउ पर्छन् भनेजस्तै कुनै न कुनै दिन फन्दामा परिन्छ भन्ने सोच्नुहोला,’ उहाँले भन्नुभयो।
आयोगले निर्वाचन सम्बन्धमा प्राप्त भएका सल्लाह, सुझाव र गुनासालाई आगामी चुनावमा क्रमशस् ग्रहण गर्दै लगिने बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा माओवादी केन्द्रका नेता डा. खिमलाल देवकोटा, एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य, तमलोपा केन्द्रीय सदस्य रामजी रायलगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरू थिए । कार्यक्रममा बोल्ने अधिकांशले निर्वाचन भड्किलो हुँदै गएको र त्यसले भ्रष्टाचार निम्त्याएको भन्दै चिन्ता व्यक्त गरेका थिए। सेतोपाटीबाट